काठमाडौं– नयाँ संविधानपछि भएको दोस्रो आवधिक निर्वाचनमा ‘लौरो’ चुनाव चिह्न निकै चर्चित भयो ।
स्थानीय तहको निर्वाचनमा यसै चिह्न लिएर बालेन्द्र शाह (बालेन) काठमाडौं महानगर प्रमुख र हर्कराज राई (हर्क साम्पाङ) धरान उपमहानगर प्रमुख निर्वाचित भएपछि यसको लोकप्रियता अझ बढ्यो ।
लामो इतिहास र बलिया संगठन भएका ठूला दललाई पाखा लगाउँदै लौरो चर्चामा आएको हो ।
तर, २०७९ मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भने लौरो कमजोर देखियो ।
उम्मेदवारहरू सबै पराजित भए पनि बागमती प्रदेशमा समानुपातिकतर्फ ‘हाम्रो नेपाली पार्टी’ (हानेपा) का दुई सांसद निर्वाचित भए ।
२०७९ असारमा अनन्तराज घिमिरेको नेतृत्वमा दर्ता भएको हानेपाले लौरोलाई आधिकारिक चुनाव चिह्न बनाएको हो ।
युवाहरूको समर्थनमा दर्ता गरिएको हानेपा सुरुदेखि नै बालेनसँग जोडिएको देखिन्छ ।
अध्यक्ष घिमिरेले समेत पार्टी दर्ता बालेनकै समर्थनमा भएको स्वीकार गरेका छन् ।
उनका अनुसार, बालेन र हर्कको जितपछि ‘लौरो’ एक ब्रान्ड बनेको र त्यसलाई संस्थागत गर्न पार्टीमार्फत दर्ता गरिएको हो ।
हानेपाका नेताहरू खुलेरै बालेनलाई भावी नेतृत्व मान्छन् ।
प्रवक्ता रोहन कार्कीले सामाजिक सञ्जालमा बालेनलाई ‘विचार’ र ‘जनताको आशा’ भनेर उल्लेख गरेका छन्। पार्टीभित्र इन्जिनियरहरूको प्रभाव पनि बढी छ, जुन बालेनको पृष्ठभूमिसँग मेल खान्छ ।
बालेन सचिवालयले पनि हानेपासँगको सम्बन्धलाई अप्रत्यक्ष रूपमा स्वीकारेको छ ।
उनका स्वकीय सचिव भूपदेप साहले पार्टी निर्माणबारे आन्तरिक छलफल भइरहेको र हानेपामार्फत अघि बढ्ने विकल्पबारे खुलेरै अस्वीकार नगरेका छन् ।
यद्यपि, पहिले लौरो अभियानसँगै रहेका सुमन सायमी भने अहिले अलग भएर राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीतर्फ लागेका छन् ।
जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङ पनि बालेनको पक्षमा देखिन्छन् ।
तर, उनले बालेन, हर्क, महावीर, सन्दुकलगायत सबै प्रभावशाली व्यक्तिहरू एउटै प्लेटफर्ममा आउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
समग्रमा, बालेन नयाँ दल घोषणा नगरी हानेपामार्फतै अघि बढ्ने सम्भावना बलियो देखिएको छ ।























