काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै गरेको बेला सबै कमिटी भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका छन् ।
बुधबारको स्थायी कमिटी बैठकमा प्रचण्डले यो प्रस्ताव राखेका हुन् ।
बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गर्ने सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकमा प्रचण्डले समसामयिक राजनीतिक प्रस्तावसहित महाधिवेशनको मिति पनि तय हुने माओवादीले जनाएको छ ।
स्रोतका अनुसार आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी छ ।
महाधिवेशन आयोजक समितिको संयोजक प्रचण्डलाई तोक्दै सबै कमिटी भंग गर्ने निर्णय गरिएको प्रवक्ता अग्नि सापकोटाले बताए ।
सशस्त्र संघर्षदेखि अहिलेसम्म लगातार नेतृत्वमा रहेका प्रचण्डलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मालगायत नेताहरूले पद छाड्न दबाब दिइरहेका बेला यो कदम उठाइएको हो ।
जेन–जी आन्दोलनपछि बढेको दबाबबीच माओवादीले विशेष महाधिवेशनमा जाने निर्णय गरेको हो ।























