images
images
  • अर्ली महाधिवेशनको तयारीमा रास्वपा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा हालका राजनीतिक घटनाक्रमलाई ध्यानमा राख्दै पुनर्गठनको आवाज उठेको छ ।

    नेताहरूले अर्ली महाधिवेशन वा विस्तारित बैठक बोलाउनुपर्ने प्रस्तावसमेत गरेका छन् ।

    मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सन्तोष परियार, पुकार बम, गणेश कार्कीलगायत नेताहरूले पार्टी पुनर्गठन अनिवार्य भएको औंल्याए ।

    परियारले रूपान्तरणका लागि दुई विकल्प प्रस्तुत गर्दै भने, ‘पहिलो, मङ्सिरमा अर्ली महाधिवेशन गर्ने, दोस्रो, महाधिवेशन नगर्ने भए विस्तारित बैठक आयोजना गर्ने ।’

    उनका अनुसार विस्तारित बैठकले सचिवालयदेखि कार्यविभाजनसम्म फेरबदल गर्न सक्नेछ, जसले आगामी फागुनमा हुन सक्ने निर्वाचनका लागि तयारी सहज बनाउनेछ ।

    साथै उनले छरिएका वैकल्पिक शक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपाले लिनुपर्ने धारणा पनि राखे ।

    बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले हालको नागरिक सरकार संविधानबाहिर बनेको, भदौ २३–२४ को आन्दोलन र जेनजी आन्दोलनका मागले मुलुकलाई नयाँ दिशातर्फ डोर्याएको भन्दै पार्टीले त्यसअनुसार रणनीति बनाउनुपर्ने सुझाव दिएका छन् ।

    प्रवक्ता मनिष झालाई उद्धृत गर्दै, सदस्यहरूको धारणा संकलनपछि बैठक आज सकिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images