काठमाडौं– आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच विशेष छलफल भएको छ ।
छलफलमा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी ढंगले सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकता रहेको बताइन् ।
उनले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने र निर्वाचनका लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालासँग निरन्तर संवाद गर्ने प्रतिबद्धता जनाइन् ।
साथै, उनले आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अघि बढाउन आग्रह गरिन् ।
निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका लागि मतपेटिका लगायतका आवश्यक सामग्री मौज्दातमा रहेको र अभाव भएका सामग्री स्वदेशमै उत्पादन भएका वस्तुलाई प्राथमिकता दिँदै प्रतिस्पर्धात्मक प्रक्रियाबाट खरिद गरिने जानकारी दिए ।
उनले राजनीतिक दल र अन्य सरोकारवालासँग सहकार्य गर्दै निर्वाचन निष्पक्षतापूर्वक सम्पन्न गर्ने आयोगको तयारीबारे जानकारी दिँदै नेपाल सरकारबाट भरपर्दो सुरक्षा प्रबन्ध मिलाइदिन अनुरोध गरे ।
छलफलमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याललगायत सरकारका वरिष्ठ अधिकारी सहभागी थिए ।
आयोगको तर्फबाट आयुक्तहरू डा. जानकी कुमारी तुलाधर, सगुन शमशेर जबरा र सचिव महादेव पन्थ उपस्थित थिए ।























