काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल र आइजिपी चन्द्रकुवेर खापुङबीचको मिलेमतोमा ५० करोड रुपैयाँ भ्रष्टाचार भएको समाचार बाहिरिएलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्रीलाई राजीनामा दिन निर्देशन गरेकी छन् ।
आइतबार विश्वखबरले ‘गृहमन्त्री अर्याल र आइजिपी खापुङको मिलेमतोमा सामान खरिद टेन्डरमा ५० करोड भ्रष्टाचार’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
उक्त समाचार सार्वजनिक भएपछि आइतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकमै हंगामा मच्चिएको थियो ।
बैठकमा प्रधानमन्त्री कार्कीले गृहमन्त्रीलाई सोधपुछ गर्दै विश्वखबरमा प्रकाशित समाचारबारे सत्यतथ्य कुरा राख्न आग्रह गरेकी थिइन् ।
तर, गृहमन्त्री अर्यालले चित्त बुझ्ने जवाफ नदिएपछि प्रधानमन्त्रीले स्पष्ट रूपमा राजीनामा दिन निर्देशन दिएकी हुन् ।
यसअघि प्रहरी पोशाकसहित १७ प्रकारका सामान खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐनविपरीत सेटिङ मिलाइएको छानबिन समितिको निष्कर्ष सार्वजनिक भइसकेको छ ।
अनुगमन कार्यालयको प्रतिवेदनले पनि स्वच्छ प्रतिस्पर्धा निषेध गरेर टेन्डर सम्झौता गर्न खोजिएको प्रमाणित गरेको थियो ।
प्रधानमन्त्रीको निर्देशन लगत्तै गृहमन्त्री अर्याल बैठकबाट बाहिरिँदै काठमाडौं महानगरका मेयर बालेन साहसँग छलफल गरिरहेका छन् ।
बालेनले राजीनामा दिन आग्रह गरेमा अर्यालले आजै बेलुकासम्म राजीनामा घोषणा गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
कार्की सरकार २३ र २४ भदौमा भएको जेन्जी आन्दोलनको बलमा गठन भएको हो ।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचाररहित सरकार सञ्चालन गर्ने बताउँदै आएकी छन् ।























