काठमाडौं– जेनजी आन्दोलनको क्रममा भदौ २४ गते सेन्ट्रल जेलबाट भागेका पूर्वसांसद टोपबहादुर रायमाझी मंगलबार डिल्लीबजार कारागारमा उपस्थित भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका उनले सेन्ट्रल जेलमा बस्ने वातावरण नभएको भन्दै डिल्लीबजारमै बस्न इच्छा प्रकट गरेका थिए ।
सोही दिन भागेका चूडामणि उप्रेती ‘गोरे’ पनि कारागार फर्किएका छन् ।
दुबईबाट ३३ किलो सुन तस्करी प्रकरणमा थुनामा रहेका उनी र उनका समूहले ल्याएको सुन अहिलेसम्म फेला परेको छैन ।
यस्तै सहकारी ठगी मुद्दामा थुनामा परेका रास्वपा अध्यक्ष रवि लामिछाने पनि नख्खु कारागार फर्किएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत जन्मदिनको अवसर पारेर कारागार फिर्ता हुने घोषणा गरेका थिए ।
कारागार प्रशासनले लामिछानेले देखाएको रिहाइ पत्र फर्जी भएको बताउँदै उनलाई समेत तत्काल फर्कन निर्देशन दिएको थियो ।
प्रशासनका अनुसार सेन्ट्रल जेलबाट भागेका करिब ३३ सय कैदीमध्ये हालसम्म एक हजार हाराहारी फर्किएका छन् ।
तर, भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री सचिव टेकनारायण पाण्डे भने अझै फर्किएका छैनन् ।























