काठमाडौं– डा.संगीता कौशल मिश्राको मन्त्री बन्ने सम्भावना तत्कालका लागि टरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले उनलाई स्वास्थ्य मन्त्री बनाउन चाहेका भए पनि कर्मचारी जीवनमा रहेका विवादका कारण अन्तिममा नाम काटिएको हो ।
जेन–जी पक्षको विरोधपछि सोमबार शपथमा चार जना मात्र सहभागी हुने भएका छन् ।
शपथ लिने मन्त्रीहरूमा उद्योग तथा कानुनका लागि सर्वोच्चका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, शिक्षा विज्ञान प्रविधिका लागि महावीर पुन, कृषि मन्त्रीका लागि मदन परियार र सञ्चारका लागि पत्रकार जगदीश खरेल रहेका छन् ।
मिश्रा यसअघि स्वास्थ्य मन्त्रालयमै कार्यरत रहँदा विवादमा तानिएकी थिइन् ।
मन्त्रीको नाम सिफारिस भएपछि उनले आइतबार मात्रै सरकारी जागिरबाट राजीनामा दिएकी थिइन् ।
तर, स्वास्थ्य सामग्री खरिद प्रकरणलगायत अर्बौँको भ्रष्टाचार काण्डमा उनको नाम जोडिँदै आएको छ ।
यसअघि डा. भगवान कोइराला र डा. सन्दुक रुइतले स्वास्थ्य मन्त्रालय अस्वीकार गरेका थिए ।
तेस्रो रोजाइका रूपमा मिश्रा अघि सारिए पनि कार्यदलले जेन–जी आन्दोलनपछिका भावनालाई ध्यानमा राख्दै उनको नाम हटाउन सुझाव दिएको हो ।
यता कानुन मन्त्रीमा सिफारिस भएका अनिलकुमार सिन्हा न्यायाधीशबाट प्रत्यक्ष मन्त्री बन्न असंवैधानिक हुने दाबी भइरहे पनि शपथको सूचीमा उनको नाम यथावत् छ ।
नवनियुक्त मन्त्रीको शपथ दिउँसो ३ बजे राखिएको छ ।
उनीहरूले पद तथा गोपनीयताको शपथ राष्ट्रपति रामचन्द्र पौडेलले गराउने छन् ।























