काठमाडौं– स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्रा मन्त्री नबन्ने सम्भावना बढेको छ ।
उनीविरुद्ध भ्रष्टाचार आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले मिश्राको नाम फिर्ता लिने तयारी गरेकी छन् ।
आइतबार प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव मिश्राको नाम स्वास्थ्य मन्त्रीको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् ।
तर, उनी ‘विवादित पात्र’ भएको सूचना पाएपछि प्रधानमन्त्री कार्कीले ‘होल्ड’ गर्न भनेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव रहेकी मिश्रा स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा निश्चित स्वास्थ्य उपकरण आपूर्तिकर्ताको स्वार्थमा काम गरेको आरोपमा मुछिएकी थिइन् ।
विशेष अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहेका मोहन बस्नेत स्वास्थ्यमन्त्री रहेको बेला उनले मिश्रासहित आफ्नो विश्वासिलो समूहलाई विभागमा लगेर खरिदमा अनियमितता गरेका थिए ।
मिश्रा विभाग प्रमुख हुँदा भएका अधिकांश स्वास्थ्य सामग्री तथा उपकरणको खरिद निश्चित व्यापारिक समूहको स्वार्थमा भएको थियो ।
बस्नेत मन्त्रीबाट हटेपछि छोटो समयका लागि स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादव र प्रदीप यादवको पालामा समेत मिश्रा विभागमै टिकेकी थिइन् ।
प्रदीप पौडेल स्वास्थ्यमन्त्री भएपछि उनको सरुवा भएको थियो ।
पौडेलले मिश्राको सरुवा गरेर विकास देवकोटालाई विभागको प्रमुख बनाए पनि देवकोटाले समेत मिलेमतोमै खरिद प्रक्रिया अगाडि बढाएको आरोप छ ।
पछि उनी बढुवा भएर मन्त्रालयको सचिव बने ।
बस्नेतको पालामा विभागले अनियमित रूपमा गरेको खरिद निर्णयमा प्रत्यक्ष जोडिएकी मिश्रालाई स्वास्थ्यमन्त्री बनाउन ‘जेन–जी’ पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनको बलमा बनेको
भनिएको सरकारले आइतबार सिफारिस गरेको थियो ।
मन्त्री नियुक्त हुने निश्चित भएपछि मिश्राले आइतबारै मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् ।
उनीसहित पाँच जनालाई मन्त्रीमा नियुक्त गर्न आइतबार साँझ नै राष्ट्रपति कार्यालयमा नाम पठाइएको थियो ।
विगतमा विवादित पृष्ठभुमी देखिएपछि उनलाई नियुक्त गर्दा विवाद हुने देखेर प्रधानमन्त्रीको सचिवालयबाट राष्ट्रपति कार्यालयमा तत्काल नियुक्ति प्रक्रिया अघि नबढाउन अनुरोध गर्दै फोन गएको थियो ।
मिश्राको पृष्ठभूमिबारे गृहमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएपछि प्रधानमन्त्रीले नै राष्ट्रपति कार्यालयमा फोन गरेर नियुक्ति रोक्न लगाएकी थिइन् ।
आइतबार प्रधानमन्त्री कार्कीले डा. मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई सिफारिस गरेकी थिइन् ।
तर, सिफारिस विवादित भएपछि हिजो मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।
दिउँसो २ बजे शपथ ग्रहणको तयारी छ ।
साढे चार अर्बको खरिदमा बदमासी
बस्नेतको १० महिने कार्यकालमा साढे चार अर्ब बराबरको स्वास्थ्य उपकरण तथा सामग्री खरिद भएको थियो ।
विभागमार्फत खरिद भएका अधिकांश टेन्डरको स्पेसिफिकेसनमा हेरफेर गरेर निश्चित कम्पनीको स्वार्थमा काम भएको थियो ।
खरिदमा मिलेमतोको प्रारम्भ मन्त्रालयको नेतृत्व तहबाटै भएको थियो, जसमा तत्कालीन स्वास्थ्य सचिव डा. रोशन पोखरेलसमेत संलग्न देखिएका थिए ।
मिश्रालाई विभागको महानिर्देशक बस्नेतले नै बनाएका थिए ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. श्रवणकुमार थापा थिए भने खरिद शाखा प्रमुखमा डा. सुरेन्द्र चौरासिया थिए ।
बायोमेडिकल इन्जिनियरका रूपमा आशिष् चौहान थिए ।
यही समूहले मिलेर विभागको खरिद स्पेसिफिकेसन ‘लक्ड’ गरेर निश्चित व्यापारीको स्वार्थमा काम गरेको थियो ।
पछि मिश्रा, थापा र चौरासियाको सरुवा भयो, तर चौहान विभागमै रहे ।
उनी प्रदीप पौडेलको पालामा भएको मिलेमतोको खरिदमा पनि सहयोगी थिए ।
खरिद अनियमिततामा चौरासिया र आशिष् समेत बदनाम पात्र मानिन्छन् ।
कमन्त्री बन्ने भनेर अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् मिश्राले
स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेपछि डा. मिश्राले आइतबार नै अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् ।
उसो त उनी स्वास्थ्य सचिव हुन नपाएको झोकले ६ महिना बिदा बसेकी थिइन् ।
गत २१ फागुनमा स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी डा. मिश्राले निरन्तर बिदा थप्दै बसेकी थिइन् ।
जेनजी आन्दोलनका कारण स्वास्थ्य मन्त्री पदबाट प्रदीप पौडेल पनि हटेपछि १२औं तहकी अतिरिक्त सचिव डा. मिश्रा गत बिहीबार मन्त्रालय फर्किएकी थिइन् ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. संगीताले यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, कोशी र स्त्री तथा प्रसूति रोग अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रुपमा काम गरेकी थिइन् ।
उनी स्वास्थ्य सेवाकी १२औं तहकी उच्च अधिकारी हुन् ।























