काठमाडौं– अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् ।
भदौ २७ मा प्रधानमन्त्री बनेको दुई दिनपछि तीनजना मन्त्री नियुक्त गरेकी कार्कीले अब थप मन्त्रीहरू नियुक्त गर्न छलफललाई तीव्रता दिएकी हुन् ।
उनले राष्ट्रिय अनुसन्धान केन्द्रका सञ्चालक महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्न प्रस्ताव गरेकी छन् ।
पुनले सकारात्मक जवाफ दिएका छन् ।
यसअघि कुलमान घिसिङ ऊर्जा, ओमप्रकाश अर्याल गृह तथा कानुन, र रामेश्वर खनाल अर्थमन्त्री भइसकेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा इमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेललाई नियुक्त गर्ने सम्भावना छ ।
खरेलले प्रस्ताव आएको स्वीकार्दै सैद्धान्तिक सहयोग गर्न तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री निकट बानियाँका अनुसार हाल क्याबिनेटमा जाने दुई मन्त्रीको नाम प्रायः फाइनल भइसकेको छ ।
कार्कीले पनि खरेल र पुनको नाम स्वीकारेकी छन् ।
दुवैलाई चाँडै नियुक्त गर्ने तयारी चलिरहेको छ ।
त्यसैगरी, चर्चित पाइलट विजय लामालाई पर्यटन मन्त्री बनाउने प्रयास भए पनि लामाले अहिले निर्णय नगरेका छन् ।
स्वास्थ्य मन्त्रालयका लागि डा. भगवान कोइराला र डा. सन्दुक रुइतको नाम चर्चामा भए पनि दुवैले जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।
रुइत तिलगंगा आँखा अस्पताल छाड्न नसक्ने कारण र कोइराला भाटभटेनीसँगको आर्थिक सम्बन्धका कारण मन्त्री बन्न असमर्थ देखिएका छन् ।























