images
images
  • मन्त्री बनिदिन प्रधानमन्त्री कार्कीको हारगुहार, मान्दैनन् कोही

    काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् ।

    मन्त्रिपरिषद् विस्तारको तयारीमा कार्कीले पुनसहित केही युवा पत्रकारहरुसँग छलफल गरेकी थिइन् ।

    छलफलमा उनले पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेको स्रोतको दाबी छ ।

    तर, पुनले यसबारे स्पष्ट जवाफ दिएका छैनन् ।

    जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा हाल अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल मात्रै रहेका छन् ।

    युवा पुस्ताबाट पुनलाई पनि सरकारले समेट्नुपर्ने माग उठिरहेको छ ।

    सन्दुक रुइत

    प्रधानमन्त्री कार्कीले गत मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग भेटवार्ता गरिन् ।

    उनले विशेष परिस्थितिमा बनेको अन्तरिम सरकारलाई सहयोग गर्न आग्रह गर्दै मन्त्रीस्तरमै सहभागी हुन प्रस्ताव गरिन् ।

    तर, डा. रुइतले मन्त्रालय सम्हाल्ने हैसियतमा सरकारमा प्रवेश गर्न नसक्ने स्पष्ट पार्दै चिकित्सकीय सेवामार्फतै नागरिक हितमा योगदान दिन निरन्तर लाग्ने बताए ।

    जेनजी आन्दोलनपछि बनेको मन्त्रिपरिषद्का सम्भावित सदस्यको सूचीमा उनको नाम चर्चामा आएको भए पनि उनले अस्पताल र बिरामीलाई नछाड्ने अडान दोहोर्याए ।

    क्याप्टेन विजय लामा

    कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामालाई पनि पर्यटनमन्त्री बन्न प्रस्ताव गरेकी छन् भन्ने चर्चा छ । तर, लामा अझै निर्णयमा पुगेका छैनन् ।

    स्रोतका अनुसार प्रधानमन्त्रीले आफैं आग्रह गरेकी हुन् ।

    लामाले आगामी आमनिर्वाचनमा उम्मेदवारी दिने योजना बनाएका छन् ।

    उनी अघिल्लो पटक रास्वपाबाट चुनाव लड्ने तयारीमा थिए र अहिले पनि प्राथमिकतामा सो पार्टी नै रहेको बताइन्छ ।

    निगममा कार्यकाल छोटो भएकाले लामाले राजनीतिमा सक्रिय हुन चाहेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images