images
images
  • रविका प्रमाण जलेर खरानी, गोरेका जोगिए !

    पोखरा– जेनजी आन्दोलन सुरु भएको पहिलो दिन (भदौ २३) नै शहीद चोक र आसपासलाई सुरक्षा निकायले संवेदनशील मानेको थियो ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रशासन, अदालतलगायतका निकाय यही क्षेत्रमा थिए ।

    त्यस दिनै मुख्यमन्त्री कार्यालय नजिकै २ जनालाई गोली लाग्यो र दिउँसोदेखि नै निषेधाज्ञा जारी भयो ।

    भोलिपल्ट (भदौ २४) बिहान १० बजेदेखि कर्फ्यू लागू भयो ।

    प्रदर्शनकारीहरू पोखरा सभागृहमा भेला भइसकेका थिए ।

    १२ बजेतिर भीड नियन्त्रणबाहिर गइ पोखरा महानगरपालिकामा तोडफोड र आगजनी सुरु भयो ।

    त्यसपछि सरकारी संरचना, नेताका घरदेखि व्यवसायसम्म विध्वंस फैलियो ।

    प्रमुख निशानामा कास्की जिल्ला अदालत पनि पर्‍यो ।

    सरकारी वकिल कार्यालयदेखि अदालतसम्म जलाइयो ।

    आन्दोलनकारीले पहिलो निशाना नै रवि लामिछानेको मुद्दा रहेका ३ नम्बर फाँटलाई बनाएको कर्मचारीहरूले बताए ।

    करिब ४ बजेतिर आन्दोलनकारी अदालतमा प्रवेश गर्दा कर्मचारीहरू भाग्न थाले ।

    सूचना अधिकारीका अनुसार सहकारीलगायतका मुद्दाका मिसिल जलेका छन् ।

    करिब ७० हजार फैसलामध्ये आधा अभिलेख जलेको अनुमान छ ।

    ५ न्यायाधीशका इजलास र कार्यालयका गाडीहरू समेत नष्ट भए ।

    अदालत पुरानो संरचना भएकाले क्षति ठूलो भएको पूर्वन्यायाधीश राघवलाल वैद्य बताउँछन् ।

    अभिलेख नष्ट हुँदा न्याय प्रणालीमै असर पर्ने अधिवक्ता भगवती पहारीको भनाइ छ ।

    अनलाइन प्रणालीले केही बचाएको भए पनि धेरै ऐतिहासिक फैसला र मिसिल गुमेका छन् ।

    हाल अदालतले बन्दीप्रत्यक्षीकरण र म्याद थपजस्ता सेवा थालिसकेको छ तर नियमित पेशी कहिले सुरु हुने टुंगो छैन ।

    त्यस्तै आन्दोलनका क्रममा अराजक समूहले आगजनी गर्दा मोरङ जिल्ला अदालतको ६१ वर्षको इतिहास जलेको छ ।

    २०२१ सालमा स्थापना भएको यो अदालतमा अभिलेख शाखामा रहेका १ लाख ५० हजारमध्ये करिब १ लाख ४५ हजार मुद्दाका मिसिल नष्ट भए ।

    विचाराधीन ३ हजार ६ सय मुद्दामध्ये २ हजार ५ सयको मिसिल भने जोगियो ।

    आगलागीमा अदालत भवन, ६२ निजी मोटरसाइकल, ५९ दसीको रूपमा राखिएका मोटरसाइकल, न्यायाधीशका ७ र अदालतका ३ चारपांग्रे गाडी जले ।

    उच्च अदालत विराटनगरमा पनि आगजनी र लुटपाटबाट ठूलो क्षति भयो ।

    रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार यहाँका करिब ६५ हजार मुद्दामध्ये केही मिसिल जले पनि, अभियान फाँटमा रहेका ५४७ मुद्दा सुरक्षित छन् ।

    त्यसमा सनम शाक्य हत्या प्रकरण र सुन तस्करीका नाइके चुणामणि उप्रेती ‘गोरे’ को मुद्दा पनि सुरक्षित छ ।

    उच्च अदालतमा ११ सरकारी, २ निजी गाडी र केही मोटरसाइकल जलेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images