काठमाडौं– नेपाली कांग्रेसले हालका लागि कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले तत्काल कार्यवाहक सभापति नियुक्त नगर्ने र विशेष महाधिवेशन नगर्ने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।
सहमहामन्त्री यादवका अनुसार बैठकले तत्काललाई कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र पार्टीको विशेष महाधिवेशन पनि नबोलाउने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा पूर्ण रूपमा स्वस्थ भएपछि मात्रै केन्द्रीय समिति बैठक बोलाइने यादवले बताए ।
सभापति देउवा जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएका थिए र हाल उपचाररत छन् ।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली सैनिक ब्यारेकबाट बिहीबार भक्तपुरस्थित गुन्डु डेरामा सरेका छन् ।
उनले त्यहीँबाट पार्टी सञ्चालन गरिरहेका छन् भने कार्यवहाक कसैलाई दिएका छैनन् ।
तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष मावध नेपाल भने नियमित पार्टी गतिविधिमा फर्किसकेका छन् ।























