images
images
  • सार्वभौमसत्ता र संविधानमाथि गम्भीर प्रहार : ओली

    काठमाडौं– संविधान दिवसको अवसरमा दिइएको सन्देशमा पूर्वप्रधानमन्त्रीले हाल मुलुकको सार्वभौमसत्ता र संविधानमाथि गम्भीर प्रहार भएको उल्लेख गर्दै सबै पुस्ताका नेपालीलाई एकताबद्ध हुन अपील गरेका छन् ।

    उनले ७० वर्षको संघर्षपछि निर्वाचित संविधानसभाबाट बनेको नेपालको संविधानलाई ऐतिहासिक उपलब्धि ठहर गर्दै भने, ‘यो संविधान नेपाली जनताले आफ्नै लागि लेखेको भविष्य रेखा हो । नाकाबन्दी र सार्वभौमसत्तामाथि बाह्य चुनौती छिचोल्दै संविधान जारी गरिएको हो ।’

    संविधान जारीपछि नेपाललाई भूपरिवेष्ठित होइन, भूजडित बनाउन ठूला संरचना निर्माणमा पहल भएको उनले स्मरण गरे ।

    ‘उत्तरी छिमेकीसँग पारवहन सम्झौता, दक्षिणतिरको यातायात विस्तार, र अर्थतन्त्र तंग्रनु त्यही यात्राको हिस्सा थियो,’ उनले भने ।

    हालै जेन–जी आन्दोलनको क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै उनले दिवंगत युवाप्रति श्रद्धाञ्जली र घाइतेप्रति स्वास्थ्यलाभको कामना गरे ।

    उनले आन्दोलनमा घुसपैठ गरेर हिंसा मच्चाएको आरोप लगाउँदै भने, ‘सरकारले प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको छानबिन हुनुपर्छ ।’

    उनले आफ्नो राजीनामापछि सिंहदरबारदेखि मुलुकका प्रमुख संरचना र कार्यालयहरूमा तोडफोड तथा आगजनी हुनु दुःखद भएको बताए ।

    ‘नक्सा जलाइयो, कार्यालयहरू खरानी पारियो, नेताकार्यकर्ताको घर जलाइयो । यो केवल संरचनामाथिको आक्रमण होइन, सार्वभौमसत्तामाथिको प्रहार हो,’ उनको भनाइ छ ।

    सन्देशमा उनले इतिहास उदाहरण दिँदै चेतावनीसमेत दिए ।

    काजी भीम मल्लको प्रसङ्ग उठाउँदै उनले भने, ‘देश बनाउनेलाई सजाय दिइयो भने पछुताउनु बाहेक केही बाँकी रहँदैन । आजको असन्तोषले पनि त्यही अवस्था ल्याउन सक्छ ।’

    उनले सबै नेपालीलाई एकजुट भई संविधानको रक्षा र सार्वभौमसत्ताको संरक्षण गर्न आह्वान गरेका छन् ।

    ‘संविधान हाम्रो स्वतन्त्रताको कवच हो, सार्वभौमसत्ता हाम्रो अस्तित्व, हाम्रो एकताले मात्र यो संकट पार गर्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images