images
images
  • चुनावी प्रयोजनका अध्यादेश बाहेक अन्य स्वीकृत नगर्ने पक्षमा राष्ट्रपति

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले चुनावीबाहेक अन्य कुनै अध्यादेश स्वीकृत नगर्ने स्पष्ट अडान व्यक्त गरेका छन् ।

    उनले निर्वाचन सम्पन्न गर्न र सरकारले दैनिक गर्नुपर्ने काम सहज बनाउन आवश्यक पर्ने अध्यादेश मात्रै मान्य हुने बताए ।

    शीतलनिवासमा कानुनविद् र नागरिक समाजसँगको भेटमा उनले मुलुकलाई संवैधानिक बाटोमा अघि बढाउँदै तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन गराउन सरकार र सबै पक्ष जुट्नुपर्नेमा जोड दिए ।

    उनका अनुसार प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मुख्य दायित्व निर्वाचन सम्पन्न गर्नु र कार्यकारी जिम्मेवारी निर्वाह गर्नु हो ।

    त्यसबाहेकका काममा सरकार अलमलिनु उचित नभएको उनले प्रष्ट पारे ।

    राष्ट्रपतिले प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्तिको संवैधानिक प्रक्रियामा आएको विवादलाई उल्लेख गर्दै आफूले शहीद हुन तयार भए पनि संविधान मिच्न तयार नभएको बताएका थिए ।

    अहिले भने संविधानको अक्षरशः पालना हुनेमा विश्वास व्यक्त गरे ।

    नागरिक समाजका अगुवाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने, संवैधानिक संरचनामा हस्तक्षेप नगर्नुपर्ने र राष्ट्रिय सभाको जिम्मेवारीपूर्ण परिचालन आवश्यक हुने सुझाव दिएका छन् ।

    राष्ट्रपति पौडेलले सबै सरोकारवालालाई संविधान र लोकतन्त्रको रक्षा गर्दै आगामी निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images