काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग फेरि उठेको छ ।
जुम्ला जिल्लाबाट पार्टी केन्द्रीय कार्यालयमा पठाइएको पत्रमा तत्काल विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न र फागुन २१ को प्रतिनिधिसभा चुनावअघि भावी प्रधानमन्त्री स्पष्ट पारेर जिम्मेवार नेतृत्वमा चुनावमा सहभागिता जनाउन आग्रह गरिएको छ ।
जुम्ला कांग्रेसले पार्टीलाई पारदर्शी, जिम्मेवार र सशक्त बनाउन कदम चाल्न समेत केन्द्रीय नेतृत्वलाई निर्देशन दिएको छ ।
उनीहरूले पार्टी र सार्वजनिक पदहरूमा एकै व्यक्ति अधिकतम दुई कार्यकाल बस्ने व्यवस्था लागू गर्नुपर्ने, मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष र वडाध्यक्ष पनि दुई कार्यकाल मात्र हुनुपर्ने सुझाव दिएका छन् ।
साथै, भदौ २४ गते सभापति शेरबहादुर देउवाको निवासमा भएको आगजनी, तोडफोड र भेटिएका नगद–जिन्सी सम्पत्तिको आन्तरिक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरिएको छ ।
यसअघि राष्ट्रिय लोकतान्त्रिक अपांग संघले पनि पार्टीको रूपान्तरण र सुधारका लागि विशेष महाधिवेशनको आवश्यकता औंल्याएको थियो ।
पार्टीभित्र नेतृत्व परिवर्तन र रूपान्तरणबारे छलफल अहिले सक्रिय भएको छ ।
सभापति देउवा पक्ष भने मंसिर २०८३ मा १५औँ महाधिवेशन गर्ने पक्षमा छ ।
तर, केही नेताहरू पुरानो नेतृत्वको निरन्तरता दिएर फागुनको चुनावमा प्रतिस्पर्धा गर्न गाह्रो हुने भन्दै तत्काल निर्णयको पक्षमा छन् ।























