काठमाडौं– २८ भदौमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले बधाई सन्देश पठाएका छन् ।
उनले नेपालका चुनौतीपूर्ण अवस्थामाझ जनताको आशा–आकांक्षा पूरा होस् भन्ने शुभकामना व्यक्त गरे ।
तीन दिनपछि निर्वासित तिब्बती संसद्का सभामुख खेन्पो सोनाम तेन्फेलले पनि कार्कीलाई ‘नेपाली जनताको विश्वास बोकेकी प्रधानमन्त्री’ भनेर सम्बोधन गर्दै शुभकामना पठाए ।
यसअघि नेपालका प्रधानमन्त्रीलाई दलाई लामा वा तिब्बती निर्वासित प्रशासनबाट यस्तो सन्देश आएको थिएन ।
नेपालले चीनको दबाबमा एक–चीन नीति कडाइका साथ पालना गर्दै आएको र नेपालमा रहेका तिब्बती शरणार्थीलाई कडा निगरानीमा राख्दै आएको पृष्ठभूमिमा यस घटनालाई असामान्य मानिएको छ ।
विशेषगरी हालै दलाई लामासँग सम्बन्धित स्वतन्त्र विद्यार्थी युनियनमार्फत सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ समूहलाई आर्थिक सहयोग पुगेको र यही समूह कार्कीलाई प्रधानमन्त्री बनाउन सक्रिय रहेको पाइएको छ ।
यसैले दलाई लामाको शुभकामना र नेपालभित्रको समूहगत सक्रियतालाई रणनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ ।
यद्यपि भूराजनीतिक विश्लेषकहरू यसबारे सार्वजनिक रूपमा बोल्न हिच्किचाइरहेका छन् ।
तर, अनौपचारिक रूपमा उनीहरूले यो घटनाक्रम नेपालका लागि संवेदनशील र रणनीतिक अर्थ बोकेको बताएका छन् ।























