काठमाडौं– जेनजी विद्रोहपछि केपी ओलीको सत्ता अन्त्य भएसँगै मुलुक नयाँ राजनीतिक यात्रातर्फ अघि बढेको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेर प्रतिनिधिसभा विघटन भएको छ ।
कार्कीले २७ भदौमा प्रधानमन्त्री बनेलगत्तै २१ फागुनमा आम निर्वाचन गर्ने घोषणा गरिन् ।
अहिले सरकार सम्पूर्ण संयन्त्रलाई चुनावी तयारीमा लगाइरहेको छ ।
तर, एमाले भने गम्भीर संकटमा छ ।
ओली पदत्याग गरेयता सार्वजनिक देखिएका छैनन् ।
नेताहरूले उनलाई सैनिक ब्यारेकमा रहेको बताएका छन् ।
तर, ठ्याक्कै कहाँ भनेर खुलाएका छैनन् ।
महासचिव शंकर पोखरेलमार्फतै पार्टीका निर्णयहरू सार्वजनिक भइरहेका छन् ।
पोखरेलले सुरुवातमा कार्की नेतृत्वको सरकार र संसद् विघटनको आलोचना गरे पनि केही दिनमै यूटर्न लिएर चुनावमा सहयोग गर्ने घोषणा गरे ।
यसले पार्टीभित्र अन्योल बढाएको छ ।
नेताहरू सामाजिक सञ्जालमार्फत आ–आफ्नै व्याख्या गरिरहेका छन्, कतिपयले पार्टी नै छाडेका छन् ।
यद्यपि अहिलेसम्म कुनै औपचारिक बैठक बसेको छैन ।
ओलीले ब्यारेकबाटै आफू आएपछि मात्र निर्णय गर्ने बताएको स्रोतहरू बताउँछन् ।
उनले कार्यवाहक नेतृत्व दिन नचाहनु पनि पार्टी लामो अन्योलमा फस्नुको कारण बनेको छ ।
इतिहासमा भने एमालेले यस्तो परिस्थितिमा कार्यवाहक नेतृत्व दिने परम्परा राखेको थियो ।
मनमोहन अधिकारीदेखि माधव नेपालसम्मले कठिन घडीमा कार्यवाहक तोकेका थिए ।
तर ओलीले नेतृत्व पुनः हातमा फर्कने विश्वास नगरेकाले कार्यवाहक दिन आनाकानी गरिरहेको देखिन्छ ।
उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार पार्टी लामो समय अनिर्णयको बन्दी रहन सक्दैन ।
तर, अहिलेसम्म ओलीकै निर्देशनमा शंकर पोखरेल वक्तव्य जारी गरिरहेकाले एमाले भविष्यको बाटो अझै अस्पष्ट छ ।























