काठमाडौं– नेकपा (एकीकृत समाजवादी_का अध्यक्ष माधव नेपालले जेन–जी आन्दोलनका जायज मागहरूलाई समयमा सम्बोधन नगरी तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भकै कारण अहिलेको अवस्था सिर्जना भएको बताएका छन् ।
आज जारी विज्ञप्तिमा उनले पार्टीले आन्दोलनअघि नै जेन–जीका मागप्रति समर्थन र ऐक्यबद्धता प्रकट गरेको स्मरण गर्दै भनेका छन्, “सत्ताधारीहरूको अहंकारका कारण दर्जनौँ युवाले जीवन गुमाउनुपर्यो र मुलुकले गम्भीर क्षति भोग्नुपर्यो ।”
उनका अनुसार भ्रष्टाचार, कुशासन, बेरोजगारी, युवा पलायन र नेताहरूको जीवनशैली र जनताबीचको ठूलो अन्तरले समेत निराशा र आक्रोश बढाएको छ ।
विज्ञप्तिमा अन्तरिम सरकार गठन भइसकेको र निर्वाचन मिति घोषणा भएकाले अब इतिहासका कमजोरीको समीक्षा गर्दै सुशासन, रोजगारी र भ्रष्टाचारको अन्त्यमार्फत आर्थिक–सामाजिक रूपान्तरण गर्नुपर्ने उल्लेख छ ।
माधव नेपालले युवा पुस्तासँगै राजनीतिक दल, नागरिक समाज, राज्य र निजी क्षेत्रबीच सहकार्य गर्दै मुलुकलाई अग्रगामी बाटोमा अघि बढाउन तयार रहेको जनाएका छन् ।























