काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मंगलबार राति फोन गरेर जन्मदिनको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री मोदीले यस वर्ष ७५ औँ जन्मदिन मनाएका छन् ।
राति करिब ११:३० बजे आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ’मा लेख्दै राष्ट्रपति ट्रम्पले मोदीसँगको फोन संवादको जानकारी दिएका थिए ।
उनले लेखेका छन्, “भर्खरै मेरो साथी, प्रधानमन्त्री नरेन्द्र मोदीसँग उत्कृष्ट कुराकानी भयो। मैले उनलाई जन्मदिनको धेरै धेरै शुभकामना दिएँ । उनी अद्भुत काम गरिरहेका छन् । रुस–युक्रेन युद्ध अन्त्यतर्फ सहयोग गरेकोमा धन्यवाद, नरेन्द्र ।”
जवाफमा प्रधानमन्त्री मोदीले ‘एक्स’ (पूर्व ट्विटर) मा प्रतिक्रिया जनाउँदै भनेका छन्, “धन्यवाद, मेरो मित्र राष्ट्रपति ट्रम्प। तपाईंको फोन र शुभकामनाका लागि आभारी छु । भारत–अमेरिका साझेदारीलाई नयाँ उचाइमा पु-याउन म पूर्णतः प्रतिबद्ध छु । हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फ तपाईंको पहललाई समर्थन गर्छौं ।”
५०% कर लगाइएको ४० दिनपछि पहिलो संवाद
ट्रम्प र मोदीबीचको यो वार्ता अमेरिकाले भारतमाथि उच्च कर लगाएको करिब ४० दिनपछि भएको हो ।
अगस्ट ६ मा रुसबाट तेल खरिद गरेको आरोपमा अमेरिकाले भारतमाथि जरिवानास्वरूप २५ प्रतिशत कर घोषणा गरेको थियो ।
त्यसपश्चात् अगस्ट ७ देखि थप २५% कर थपिँदा, अमेरिकामा निर्यात हुने भारतीय सामानमा कुल ५०% कर लाग्न थालेको हो ।
यो निर्णय अगस्ट २७, २०२५ देखि पूर्ण रूपमा कार्यान्वयनमा आएको थियो ।
जर्मन पत्रिका फ्रान्कफर्टर अल्जेमाइन जेइटुङ (FAZ) का अनुसार, ट्यारिफ विवाद सुरु भएपछि मोदीले चारपटक ट्रम्पको फोन नउठाएकोसमेत दाबी गरिएको थियो ।
यसअघि दुबै नेताबीचको अन्तिम औपचारिक टेलिफोन वार्ता जुन १७ मा भएको थियो, जुन करिब ३५ मिनेट लामो थियो ।
७ घण्टा लामो व्यापार वार्ता
कर सम्बन्धी तनावका बीच भारत–अमेरिका द्विपक्षीय व्यापार वार्ता पनि पुनः सुरु भएको छ ।
मंगलबार नयाँ दिल्लीमा अमेरिकी प्रतिनिधि ब्रेन्डन लिन्च र भारतीय वाणिज्य मन्त्रालयका विशेष दूत राजेश अग्रवालबीच करिब सात घण्टा लामो वार्ता सम्पन्न भएको हो ।
भारतीय वाणिज्य मन्त्रालयका अनुसार, दुवै प्रतिनिधिहरूले व्यापार सम्झौतामा अगाडि बढ्ने सम्भावित बाटोबारे छलफल गरेका छन् ।
दुवै पक्षले वार्तालाई ‘धेरै सकारात्मक’ भनेका छन् ।
लिन्च सोमबार राति एक दिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका थिए ।
अर्को वार्ताको मिति चाँडै तय गरिने मन्त्रालयले जनाएको छ ।


विश्व खबर 


















