काठमाडौं– ३० भदौमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमार्फत पार्टी रूपान्तरणका लागि पद त्याग्न तयार रहेको घोषणा गरे ।
संविधान दिवसकै दिन पार्टी सुधारको संकल्प गर्नुपर्ने भन्दै उनले गल्ती स्वीकारेर आत्मसमीक्षा र आत्मसंकल्प गर्न आह्वान गरे ।
तर, सभापति शेरबहादुर देउवा भने मौन छन् ।
जेन–जी आन्दोलनमा मुख्य निशानामा परेका देउवा दम्पतीमाथि आन्दोलनकारीले आक्रमण गरेका थिए ।
पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा एमालेसँग मिलेर पुनः प्रधानमन्त्री बन्ने तयारीमा थिए ।
जसले संविधान र संसदीय व्यवस्थामै संकट ल्याएको आलोचना छ ।
पार्टीभित्र नेतृत्व रूपान्तरणको दबाब बढ्दो छ ।
जिल्ला सभापतिदेखि केन्द्रीय सदस्यसम्मको माग छ– देउवाले अब मार्ग प्रशस्त गर्नुपर्छ ।
जानकारहरूका अनुसार उनको नीति र कार्यशैली असफल भइसकेको छ, ढिला नगरी राजीनामा दिनैपर्छ ।
तर, देउवा निकटहरू भने अहिले नेतृत्व परिवर्तन समयसापेक्ष नभएको दाबी गर्छन् ।
कार्यसम्पादन समितिको बैठकले नेतृत्वबारे छलफलै नगरेपछि असन्तुष्टि बढेको छ ।
नेताहरूको भनाइमा विधान अनुसार वरिष्ठ उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाएर ६ महिनाभित्र विशेष महाधिवेशन गर्न सकिन्छ ।
आवश्यक परे केन्द्रीय कार्यसमितिको ४० प्रतिशत सदस्यको लिखित मागमा तीन महिनाभित्र महाधिवेशन बोलाउन सकिने व्यवस्था पनि छ ।
जेन–जी विद्रोहपछि कांग्रेसभित्र पनि नेतृत्व असफल भएको र नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने धारणा प्रबल हुँदै गएको छ ।
निष्क्रिय बनेका विद्यार्थी र तरुण संगठनलाई सक्रिय पार्दै युवापुस्ताको सहभागितामा ‘नवीन कांग्रेस’ बनाउनुपर्ने दबाब चुलिएको छ ।























