images
images
  • कांग्रेस नेतृत्वको सामूहिक राजीनामा माग

    काठमाडौं– नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी सुधारको माग गर्दै शीर्ष नेतृत्वलाई सामूहिक राजीनामा दिन आग्रह गरेका छन् ।

    मंगलबार नयाँ बानेश्वरमा रञ्जित कर्णको संयोजकत्वमा बसेको भेलाले सभापति, पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूले पद त्याग्नुपर्ने निष्कर्ष निकालेको छ ।

    यसअघि महामन्त्री गगन थापाले पनि नेतृत्व राजीनामा गर्न तयार भए आफू पनि त्यागपत्र दिन तयार रहेको बताएका थिए ।

    भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि शीर्ष नेतृत्व परिवर्तनको बहस चर्कँदै गएको छ ।

    भेलाले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दोषीमाथि छानबिन र कारबाहीको माग गरेको छ ।

    साथै, पार्टी नेतृत्व र विभिन्न निवास तथा सम्पत्तिमाथि भएका आक्रमणको निन्दा गर्दै संलग्नलाई कारबाहीको माग गरिएको छ ।

    भेलाले नेपाली कांग्रेसले तत्काल अपनाउनुपर्ने सुधारका एजेन्डा यसरी प्रस्तुत गरेको छ :

    १. नयाँ नेतृत्व: वर्तमान शीर्ष नेतृत्वको सामूहिक राजीनामा, तदर्थ समितिको गठन र विधानअनुसार समयमै महाधिवेशन ।
    २. युवाको सहभागिता: केन्द्रीय समितिमा ४० वर्षमुनिका युवाको कम्तीमा ५१% प्रतिनिधित्व ।
    ३. भ्रष्टाचार नियन्त्रण: आन्तरिक भ्रष्टाचार छानबिन आयोग गठन र २०४६ पछि भएका उच्चस्तरीय भ्रष्टाचारको छानबिन ।
    ४. सदस्यता प्रणालीमा सुधार: स्वतन्त्र समिति र डिजिटल प्रणालीमार्फत पारदर्शी सदस्यता र अधिवेशन ।
    ५. उम्मेदवारी नियम: पराजित उम्मेदवारलाई पुनः सोही पदमा उम्मेदवारी दिन रोक, सक्रिय सदस्यबाट मात्र छनोट ।
    ६. शक्ति विकेन्द्रीकरण: सभापतिको एकछत्र अधिकार अन्त्य, सामूहिक नेतृत्व, सभापति र संसदीय दलको नेतामा फरक व्यक्ति ।
    ७. भातृ–संस्थामा समयसीमा: तोकिएको अवधिभित्र अधिवेशन सम्पन्न र पार्टीको अनावश्यक हस्तक्षेप रोक ।
    ८. राजनीतिक नियुक्ति सुधार: न्यूनतम राजनीतिक हस्तक्षेप, विज्ञलाई प्राथमिकता र दीर्घकालीन योजना निर्माण ।

    प्रतिक्रिया दिनुहोस्

    images