काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् ११ सदस्यभन्दा बढी नबनाउने निर्णय लिएको बताएकी छन् ।
बीबीसी नेपाली सेवासँगको विशेष अन्तर्वार्तामा उनले मन्त्री चयनमा राजनीतिक दल वा दलसँग आबद्ध व्यक्तिहरूलाई नलिइने स्पष्ट पारेकी छन् ।
‘मन्त्रिपरिषद् करिब १० देखि ११ जनाभन्दा बढी नहुनेछ ।
जो–जसको क्षमताअनुसार जिम्मेवारी दिने हो,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
उनका अनुसार हालसम्म तीन जना मन्त्री नियुक्त भइसकेकाले अब थपिने सदस्यमा समावेशिता सुनिश्चित गर्ने गरी व्यक्तिहरू खोजिनेछ ।
‘राजनीतिमा सक्रिय नभएका वा विभिन्न संस्थामा काम गर्ने व्यक्तिलाई ल्याउने तयारी भइरहेको छ,’ उनले भनिन् ।
राजनीतिक पृष्ठभूमिका मानिसलाई मन्त्री बनाउँदा चुनावतर्फ ध्यान केन्द्रित हुन नसक्ने भएकाले निर्वाचनमा नलड्ने व्यक्तिहरूलाई मन्त्री बनाइने प्रधानमन्त्री कार्कीले प्रष्ट्याइन् ।























