images
images
  • जनार्दन शर्माले मागे प्रचण्डको राजीनामा

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् ।

    जेनजी आन्दोलनले भ्रष्टाचार र पुरानो राजनीतिविरुद्ध सशक्त सन्देश दिएको भन्दै शर्माले नेतृत्व परिवर्तन अब अपरिहार्य भएको टिप्पणी गरेका छन् ।

    उनले यसबारे पार्टीभित्र छलफल पनि सुरु गरेका छन् ।

    शर्माले भने,आन्दोलनले थिग्रिएको नेतातन्त्र, दलाली र कमिसन संस्कृतिमाथि प्रहार गर्दै नयाँ बाटो खोलेको छ, जसलाई माओवादी केन्द्रले आत्मसात् गर्नुपर्छ ।

    शर्माले हालै प्रस्तुत गरेको संश्लेषणमा मुख्य बुँदाहरू यसप्रकार छन् :

    १. जेनजी आन्दोलनले पुरानो भ्रष्ट राजनीतिक संस्कृतिमा प्रहार गरेकोले त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।
    २. दलतन्त्र, नेतातन्त्र र कमिसनतन्त्रको अन्त्य गरी देशलाई नयाँ दिशामा लैजानुपर्छ ।
    ३. वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्छ ।
    ४. सम्पत्ति छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्छ ।
    ५. २०४६ पछि पदमा बसेकासहित सबैको सम्पत्ति छानबिन गर्नुपर्छ ।
    ६. पार्टीको शीर्ष नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ ।
    ७. नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चयन हुनुपर्छ ।
    ८. पदावधि र कार्यकालबारे स्पष्ट नीति बनाउनुपर्छ ।
    ९. वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक प्रणाली लागू गर्नुपर्छ ।
    १०. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्छ ।
    ११. दलित महिला र सीमान्तकृत समूहका समस्यामा स्पष्ट दृष्टिकोण बनाउनुपर्छ ।
    १२. सांस्कृतिक विचलन र यौन अराजकतामाथि छानबिन गर्नुपर्छ ।
    १३. शहीद, बेपत्ता परिवार, घाइते योद्धा र वृद्धहरूको संरक्षण गर्नुपर्छ ।
    १४. श्रम र उत्पादनमार्फत स्वरोजगार सिर्जना गर्ने अभियान सुरु गर्नुपर्छ ।
    १५. राष्ट्रियता जोगाउन पार्टी संरचना सचेत र सक्रिय बनाउनुपर्छ ।
    १६. यी लक्ष्यअनुरूप नयाँ संगठनात्मक रूप दिनुपर्छ ।

    प्रचण्ड पक्षले भने शर्मामाथि पार्टीभित्र अराजकता फैलाएको आरोप लगाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images