काठमाडौं– जेनजी पुस्ताले भ्रष्टाचार अन्त्य, सुशासन र उत्तरदायी सरकारको माग गर्दै भदौ २३–२४ गते गरेको आन्दोलनले मुलुकमा २७ घण्टाभित्र ठूलो उथलपुथल ल्यायो ।
दुई दिनमा ७० भन्दा बढी नागरिकको ज्यान गयो, सार्वजनिक र निजी सम्पत्ति व्यापक रूपमा ध्वस्त भयो ।
जेनजीहरू स्वयं दुई दिनअघि हिंसा बढ्दै गएको देखेर पछि हटे पनि, आन्दोलनको नाममा केही स्वार्थ समूहले आफ्नो फाइदा उठाए ।
भीडले ऐतिहासिक सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, सरकारी कार्यालय र निजी सम्पत्तिमा आगजनी र तोडफोड ग¥यो ।
यस आन्दोलनले परम्परागत मुख्य दलहरू कांग्रेस, एमाले र माओवादीभित्र नेतृत्व र सुधारको माग तेज बनायो ।
कांग्रेस सभापति देउवा उपचाररत भए, केही शीर्ष नेताहरू लुकेर बस्न बाध्य भए ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भए र पार्टी नेतृत्व परिवर्तनको दबाब बढ्यो ।
कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्मा, एमालेका योगेश भट्टराई, गोकुल बाँस्कोटा, महेश बस्नेत लगायतले नेतृत्व परिवर्तन र पार्टी पुनर्संरचना अपरिहार्य भएको बताएका छन् ।
माओवादी नेता लेखनाथ दाहालले पनि नेतृत्व फेरिनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
राजनीतिक विश्लेषकहरूले जनताका मागले राजनीति उथलपुथल हुँदा पनि पद र शक्तिप्रतिको आसक्तिले शीर्ष नेताहरूलाई बदनाम बनाएको टिप्पणी गरेका छन् ।
अब प्रमुख दलका युवा नेताहरूले सक्रिय भएर नेतृत्व सम्हाल्नुपर्ने र परम्परागत दलले समयमै हस्तक्षेप नगरे आगामी चुनावमा ठूलो क्षति भोग्नुपर्ने चेतावनी दिइएको छ ।























