काठमाडौं– जेन्जी आन्दोलनका क्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि उनका निवासमै आक्रमण भयो ।
केही प्रदर्शनकारी र सुरक्षाकर्मीले जोगाएर उनीहरूलाई नेपाली सेनाको जिम्मा लगाइ शिवपुरी लगियो ।
भदौ २४ मा बूढानीलकण्ठस्थित देउवा निवासमा प्रवेश गरेका प्रदर्शनकारीले कुटपिटसहित आगो लगाएका थिए ।
घरमा ठूलो परिमाणमा नगद फेला परेको हल्ला सामाजिक सञ्जालमा फैलियो ।
यसअघि झापाको कनकाइका मेयरको निवासबाट ८० केजी सुन भेटिएको गलत हल्ला जस्तै देउवा निवासको हल्लाको सत्यता अहिलेसम्म पक्का भएको छैन ।
सोमबार साँझ कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल बैठकमा मुलुकभरका ६५ जिल्लाका सभापतिहरू सहभागी भए ।
बैठकमा देउवा निवासमा पैसा भेटिएको हल्लाबारे स्पष्टता मागियो ।
पाल्पाका सभापति हिमाल श्रेष्ठ र इलामका डम्बर खड्कासहित अन्य धेरै जिल्ला सभापतिहरूले यस विषयमा जिज्ञासा राखे ।
महामन्त्री विश्वप्रकाश शर्माले स्रोत नखुलेको सम्पत्तिको अनुसन्धान राज्यले गर्नुपर्ने र व्यक्तिको जिम्मेवारी अलग रहेको प्रष्ट पारे ।
बैठकमा पार्टी रूपान्तरण आवश्यक रहेको नयाँ पुस्ताको भावना समेटेर पार्टीलाई नयाँ रूप दिनुपर्नेमा जोड दिइयो ।
ललितपुर सभापति जितेन्द्र श्रेष्ठले तोडफोड र आगजनीमा कांग्रेसका केही जिल्ला नेताहरू संलग्न रहेको आरोप लगाए ।
एमालेसँग सत्ता सहयात्रा गर्नु कांग्रेसको ठूलो भूल भएको पनि बैठकमा उठाइयो ।
महामन्त्री गगन थापाले उच्च मनोबलसहित धैर्यताको बाटो रोज्दै पार्टीलाई माथिदेखि तलसम्म नवनिर्माण गर्न आवश्यक रहेको बताए ।
उपसभापति पूर्णबहादुर खड्काले पनि सभापतिहरूलाई निराश नभइ पार्टीको काममा जुट्न आग्रह गरे ।























