काठमाडौं– सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी तलब–भत्ता र सुविधा नलिने घोषणा गरेपछि प्रशंसा र बहस दुवै भएको छ ।
तर, नेकपाका महासचिव विप्लवले यसलाई ‘जनतामा भ्रम छर्ने’ प्रचार भनेर व्याख्या गरेका छन् ।
कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा उनले भने, ‘तलब नलिने भनिन्छ, तर तलब नलिएर के खान्छ ? माटो खान्छ ? यसको अर्थ अरु बाटोबाट कमाएको छ भन्ने हो ।’
विप्लवका अनुसार यस्ता अभिव्यक्ति जनतालाई भुलाउने र आफ्नो स्वार्थ सिद्ध गर्ने शैली मात्र हुन् ।
उनले नेताहरू श्रम र उत्पादनतर्फ नफर्किएको, सजिलो पैसाको खोजीमा विदेशी एजेन्ट बनेको भन्दै आलोचना गरे ।
उनको यो टिप्पणी यतिबेला विवादमा परेको छ ।
यद्यपि, उनले प्रधानमन्त्री कार्की र मन्त्रीहरूलाई राम्रो काम गर्न शुभकामना पनि दिए ।
‘राम्रो गर्नुस्, अरुको टाउकोमा दोष थोपर्ने होइन, काम गरेर देखाउनुस्,’ उनको भनाइ थियो ।
सोही दिन बेलुकी उनले भिडियो सन्देशमार्फत सरकारको संरचना जन–एक्सको भएको भन्दै आलोचना गरेका थिए ।
कपिलवस्तुमा आयोजित कार्यक्रममा विप्लवले युद्धमा दुई छोरालाई गुमाएकी देवीमाया बिकलाई तीन कोठे घर हस्तान्तरण गर्दै शहीदका सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।























