काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि पार्टी गतिविधिमा सक्रिय भएका छन् ।
भदौ २३ र २४ गते जेन–जी आन्दोलन चर्किएपछि प्रचण्ड नेपाली सेनाको कडा सुरक्षा घेराभित्र रहेका थिए ।
२३ गते काठमाडौंको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा भएको प्रहरी दमनमा १९ जनाको ज्यान गएपछि उनले भदौ २४ गते सिंहदरबारमा विपक्षी दलहरूको बैठक आह्वान गरेका थिए ।
तर, आन्दोलन झन् उग्र बनेपछि सेनाले उनलाई सिंहदरबारबाटै उद्धार गरेर सुरक्षा दिएको थियो ।
माओवादी केन्द्रका एक वरिष्ठ नेताका अनुसार परिस्थिति केही सामान्यतर्फ फर्किन थालेपछि प्रचण्ड सोमबारदेखि पार्टी काममा फर्किएका हुन् ।
उनी छिट्टै आन्दोलनकारीले तोडफोड गरेको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालय निरीक्षण गर्न जाने तयारीमा छन् ।
साथै, पछिल्ला राजनीतिक घटनाक्रमको मूल्याङ्कन गर्न नजिकै पार्टी पदाधिकारी बैठकसमेत बोलाउने तयारी उनले गरेका छन् ।























