काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तारको प्रक्रिया अघि बढाउँदै गर्दा दर्जनौं व्यक्तिले सचिवालयमार्फत मन्त्री बन्ने इच्छा व्यक्त गरेका छन् ।
सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा कुलमान घिसिङ र गृह, कानुन तथा संसदीय मामिलामा ओमप्रकाश अर्याललाई शपथ दिलाए ।
कार्की नेतृत्वको सरकारले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेको छ ।
हाल प्रधानमन्त्रीसहित चार मन्त्री रहेका छन् भने थप सात जना चयन गर्ने तयारी छ ।
यस क्रममा ‘मलाई मन्त्री बनाउनुपर्छ’ भन्दै फोन र मेसेज पठाउनेको संख्या बढे पनि सचिवालयले त्यसलाई गम्भीर रूपमा नलिएको स्रोतले बतायो ।
सचिवालयको निष्कर्षअनुसार व्यक्तिगत सम्पर्कमा आएका व्यक्तिलाई मन्त्री नबनाइ, मन्त्रालयगत विशेषज्ञता हेरेर उपयुक्त पात्र खोज्ने तयारी छ ।
यसअघि धरानका मेयर हर्क साम्पाङ गृहमन्त्री बन्ने इच्छा लिएर बालुवाटार पुगेका थिए भने पूर्वआइजिपी सर्वेन्द्र खनालले पनि सम्पर्क गरेका थिए ।























