काठमाडौं– भदौ २३–२४ को जेन्जी विद्रोहपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र पार्टी दुवै सत्ताबाट बहिर्गमित भए ।
उनी अहिले सेनाको सुरक्षा घेराभित्र छन् र पार्टी नेतृत्व अन्योलमा छ ।
पार्टी कार्यालयदेखि नेताहरूका घरसम्म जलाइएका कारण कार्यकर्ता अभिभावकविहीन भएको महसुस गर्दैछन् ।
महासचिव शंकर पोखरेलले भर्चुअल संवादमार्फत् कार्यकर्तालाई ढाडस दिँदै क्षतिलाई अभिलेखमा राख्न र नेतृत्वमाथि तत्काल आलोचना नगर्न आग्रह गरेका छन् ।
तर, धेरै नेताहरू ओलीको नेतृत्वमा अब पार्टी उठ्न नसक्ने ठहरमा पुगेका छन् ।
उपाध्यक्ष सुरेन्द्र पाण्डेले तत्काल राजीनामा माग गरेका थिए भने युवराज ज्ञवाली र योगेश भट्टराईलगायतले पार्टी पुनर्गठन आवश्यक ठहराएका छन् ।
संस्थापन पक्षका गोकुल बाँस्कोटासमेतले नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन् ।
नेताहरूको धारणा छ, ओलीकै कारण असन्तुष्टि विस्फोट भएको हो, चुनावमा उनलाई अगाडि राखेर जान सम्भव छैन ।
पहिलोपटक अविश्वास, दोस्रोपटक परमादेश र तेस्रोपटक जेन्जी विद्रोहमार्फत् ओली सत्ताबाट हटाइएका हुन् ।
अहिले एमाले पुनर्गठन र नयाँ नेतृत्वको दिशामा प्रवेश गर्ने चरणमा पुगेको देखिन्छ ।























