
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै जेन–जी आन्दोलनका मृतकलाई ‘शहीद’ घोषणा गर्दै प्रत्येक परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरिन् ।
तर, पीडित परिवारले यसमा चित्त बुझाएनन् । उनीहरूको अतिरिक्त माग थियो– अन्त्येष्टिमा राष्ट्रिय सम्मान ।
त्यो माग सुनाउन उनीहरू मन्त्री र अधिकारीसम्म पुगे पनि सुनुवाइ भएन ।
अन्ततः बालुवाटार पुगेका सात मृतकका परिवारजनलाई प्रधानमन्त्रीसँग भेट्ने भन्दै निवासभित्र प्रवेश गराइयो ।
तर, कार्की मन्त्री नियुक्तिको छलफलमा व्यस्त भएको कारण भेट्न दिइएन ।
राति १० बजेपछि ‘प्रधानमन्त्री व्यस्त’ भन्दै लबीमा बसाइएका परिवारलाई बाहिर निकालिएको मृतक रसिक खतिवडाका काका विवेक खतिवडाले बताए ।
आफन्त गुमाउँदाको पीडा र अपमानजनक व्यवहारले आक्रोशित बनेका परिवारजन तीन नम्बर गेट बाहिर निस्किएर ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नाराबाजी गर्न थाले ।
त्यसैबीच ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ पनि पुगे ।
उनले ‘सबैभन्दा शक्तिशाली जनता हुन्, कसैले रोक्न सक्दैन’ भन्दै आक्रोश पोखेका थिए ।
मृतक परिवारका सदस्यले उनलाई नै प्रश्न गरे, ‘हिजोसम्म तपाईंले न्याय दिने भन्नु भएको होइन ? अब हामी कसलाई गुहार्ने ?’
जेन्जी आन्दोलनका सहजकर्ता ओमप्रकाश अर्याल गृहमन्त्री बनेको विषयमा समेत असन्तुष्टि व्यक्त भयो ।
नाराबाजीमा सहभागी युवामध्ये एकले भने, ‘यो आन्दोलनको नेतृत्व हामीले गरेका हौं, केही साथीहरूले हाइज्याक गरेका छन् ।’
प्रतिक्रिया दिनुहोस्