images
images
  • राष्ट्रपतिले अड्काए नयाँ सरकार गठनको हलो

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीले प्रस्ताव गरेकी पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीबीच संसद् विघटनको प्रक्रियामा मतभेद हुँदा प्रधानमन्त्री नियुक्ति रोकिने स्थिति बनेको छ ।

    राष्ट्रपति पौडेल कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भए पनि संसद् विघटन प्रधानमन्त्रीको सिफारिसमै सम्भव हुने भन्दै संविधानिक अड्चन देखाएका छन् ।

    तर, कार्की भने प्रधानमन्त्री बन्नुअघि नै संसद विघटन हुनुपर्ने अडानमा छिन् ।

    राष्ट्रपतिले ठूला दलका शीर्ष नेता, पूर्वप्रधान न्यायाधीश कार्की र प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन् ।

    सेना र राष्ट्रपतिले संसदबाटै नयाँ प्रधानमन्त्री असम्भव बताएपछि दलहरूले पनि आफ्नो अडान बदलेका छन् ।

    अन्ततः दलहरूलाई सहमत गराएर कार्कीलाई सिधै प्रधानमन्त्री बनाउने तयारी राष्ट्रपति पौडेलको छ ।

    नयाँ सरकारको मुख्य जिम्मेवारी निर्वाचन घोषणा गर्नु र जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको छानबिन गर्नु हुनेछ ।

    साथै, नेताहरूको सम्पत्ति तथा भ्रष्टाचार छानबिन गर्ने एजेन्डा पनि तय भइसकेको छ ।

    सडक सुरक्षामा नेपाली सेना खटिएको छ र सेनापतिले लामो समयसम्म स्पष्ट निर्णय बिना सेना परिचालन गर्न नमिल्ने भन्दै छिटो सरकार गठन गर्न आग्रह गरिरहेका छन् ।

    भ्रष्टाचार र सामाजिक सञ्जाल नियन्त्रणविरुद्धको जेनजी आन्दोलनकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते राजीनामा दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images