काठमाडौं– जेन–जी आन्दोलनपछिको अस्थिर परिस्थितिमा संसद् राख्ने वा विघटन गर्ने विषयमा तीव्र बहस सुरु भएको छ ।
तराई–मधेस केन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चाभित्रै फरक धारणा देखिएको छ ।
संयोजक डा. शिवजी यादवले संसद् र संविधानविपरीत कुनै कदम अस्वीकार्य हुने बताएका छन् भने राजेन्द्र महतोले संसद विघटनमार्फत संविधान पुनर्लेखनको माग गरेका छन् ।
जनमत पार्टी अध्यक्ष डा. सीके राउतले सामूहिक राजीनामा दिए पनि संसद् बचाउनुपर्ने बताएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव, वृषेशचन्द्र लाल लगायतले संविधान र संसद् जोगाउन जोड दिएका छन् ।
त्यस्तै रास्वपाभित्र पनि संसद् बचाउनेबारे मतभेद देखिएको छ ।
डा. तोसिमा कार्कीले संसद् विघटन र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था माग गरेकी छन् भने सोबिता गौतमले संसद् विघटन जनसत्ता संकटमा पार्ने भन्दै विरोध गरेकी छन् ।
बालेन शाहले समेत अन्तरिम सरकार गठनसहित संसद् विघटनको माग गरेका छन् ।
तर, जेन–जी आन्दोलनकारीहरूभित्र भने यस विषयमा एकमत छैन ।
यसैबीच रास्वपाका २० सांसदले सामूहिक राजीनामा दिएका छन् ।
उनीहरूले संसद् वैधता गुमाएको भन्दै अन्तरिम नागरिक सरकार गठनको माग गरेका छन् ।























