काठमाडौं– राष्ट्रपति कार्यालय शीतलनिवासमा अन्तरिम सरकार गठनका लागि घनिभूत वार्ता भइरहेका बेला सिंहदरबारमा भने नयाँ प्रधानमन्त्रीलाई कहाँ राख्ने भन्नेबारे छलफल भइरहेको छ ।
गृह मन्त्रालयका एक सहसचिवका अनुसार तत्कालका लागि नयाँ गृह मन्त्रालय भवन वा पुरानो सामान्य प्रशासन मन्त्रालय भवनमध्ये एकलाई विकल्पका रूपमा राखिएको छ ।
सामान्य प्रशासन मन्त्रालय हाल नयाँ भवनमा सरेको छ भने पुरानो भवन परराष्ट्र मन्त्रालयका लागि तयारीमा छ ।
सहज परिस्थितिमा मन्त्रालय तथा निकायको स्थान तोक्ने जिम्मा सहरी विकास मन्त्रालयको भए पनि अहिलेको असामान्य अवस्थाले मुख्यसचिवमार्फत अन्तरिम निर्णय गर्ने तयारी भइरहेको एक सचिवले बताए ।
तर, आन्दोलनरत जेनजी समूहको स्वीकृति पनि आवश्यक पर्ने भएकाले अन्तिम टुङ्गो अझै नलागेको सचिवहरूको भनाइ छ ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगलागीपछि सिंहदरबारभित्र करिब ८० प्रतिशत संरचना र सामग्री ध्वस्त भएको प्रारम्भिक आकलन गरिएको छ ।
संसद् सचिवालय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयभित्र भने आंशिक रूपमा सञ्चालन सम्भव हुने देखिएको छ ।
शुक्रबारदेखि कर्मचारीहरूले क्षतिको आकलन, काम लाग्ने सामग्री छुट्याउने कार्य सुरु गरेका छन् ।
मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सचिवहरूले सिंहदरबारको निरीक्षण गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राख्न उपयुक्त भवन छान्ने तयारी गरेको जानकारी दिएका छन् ।
निरीक्षणमा सहभागी एक सचिवका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय सबैभन्दा बढी क्षतिग्रस्त भएका छन् ।























