काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विपत्तिजनक परिस्थितिमा संवैधानिक दायराभित्र रही समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन् ।
आज (भदौ २६ गते) जारी गरिएको विशेष सन्देशमा राष्ट्रपति पौडेलले मुलुकमा विद्यमान समस्याबाट निस्कनका लागि शान्ति र सुव्यवस्था कायम गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।
देशको अहिलेकै विपत्तिपूर्ण अवस्थामा मुलुकलाई संवैधानिक दायरामा रही कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा म विचार विमर्श एवं हरेक प्रयास गरिरहेको छु, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् ।
आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न द्रुत समाधान खोजिनुपर्नेमा जोडदिँदै उनले विस्तृत संवाद र संयमतापूर्वक काम गर्दै मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् ।
राष्ट्रपति पौडेलको यो सन्देश हालको राजनीतिक अस्थिरता र बढ्दो आन्दोलनबीच आएको हो, जसले मुलुकको राजनीति अझै उथलपुथल हुने आशंका बढाएको छ ।
























