काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई माओवादी केन्द्रसँग विलय गर्ने तयारी गर्दा पार्टीभित्र असन्तोष बढेको छ ।
नेपाल समूहले संस्थागत निर्णयबिनै सातै प्रदेशमा माओवादी नेतासहित भेलाहरू राख्दा असन्तुष्ट नेताहरूले समानान्तर बैठक र वैकल्पिक कमिटी गठनको गतिविधि बढाएका छन् ।
विद्यार्थी संगठन अनेरास्ववियु, युवा संगठन, मजदुर विशेष जिल्ला कमिटी र अन्य जनवर्गीय संगठनमा समानान्तर कमिटी सञ्चालन भैरहेको छ ।
पतञ्जली जग्गा प्रकरणमा अध्यक्षमाथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि असन्तुष्ट नेता पार्टी नेतृत्वबाट अलग हुनु पर्ने माग राख्दै आएका छन् ।
गत आइतबार बानेश्वरमा ५० जना भन्दा बढी नेताहरूको भेला भएको थियो, जहाँ अध्यक्ष नेपालको माओवादीसँग एकता गर्ने तयारीबारे प्रश्न उठाइएको थियो ।
पार्टीले भदौ २५–२८ मा स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक गरेर आन्तरिक विवाद समाधान, सुशासन, रोजगारी र समृद्धि अभियानको समीक्षा गर्ने तयारी छ ।
नेकपा एकीकृत समाजवादी सचिव शेरबहादुर कुँवरले एकताको विरोधमा भएका गतिविधि अस्वीकार्य रहेको चेतावनी दिएका छन् ।























