वासिङ्टन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी महिनामा दक्षिण कोरियाको भ्रमणमा जाने सम्भावना देखिएको छ ।
ट्रम्पले त्यहाँ हुने एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनमा भाग लिन सक्ने समाचार सीएनएनले उल्लेख गरेको छ ।
यस भ्रमणको क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्न सक्ने चर्चा चलेको छ ।
तर, ह्वाइट हाउसले अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन ।
शिखर सम्मेलन अक्टोबरको अन्त्य र नोभेम्बरको सुरुवातमा ग्योङजुमा आयोजना हुने छ ।
गत महिना ट्रम्प र सीबीच फोन वार्ता भएको थियो ।
जसमा सीले ट्रम्पलाई चीन भ्रमणको निमन्त्रणा दिएका थिए ।
ट्रम्पले पनि यसमा सहमति जनाएका थिए ।
त्यस्तै, ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गर्न सक्ने सम्भावना पनि रहेको छ ।
तर, किम शिखर सम्मेलनमा सहभागी हुने कि नहुने कुरा अझै स्पष्ट छैन ।
दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले ट्रम्पलाई शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरेका थिए ।
ट्रम्पको भ्रमण चीन–उत्तर कोरिया–दक्षिण कोरिया सम्बन्धको संवेदनशील समयमा हुने देखिन्छ ।


विश्व खबर 


















