काठमाडौं– नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारासहित जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन पेश गरिसकेका छन् ।
महाधिवेशनमा एमालेले अध्यक्षका तर्फबाट राजनीतिक दस्तावेज प्रस्तुत गरेको छ, जसमा अन्य दलहरूको मूल्याङ्कन गरिएको छ ।
नेपाली कांग्रेस एमालेले कांग्रेसलाई ‘टेस्टेड’ बताउँदै पार्टीले आन्दोलनको नेतृत्व गरे पनि उपलब्धि रक्षा गर्न नसकेको र नवउदारवादी नीतिले समृद्धि नेतृत्व गर्न नसक्ने उल्लेख गरेको छ ।
नेकपा (माओवादी केन्द्र) माओवादी केन्द्रबाट मुलुकको नेतृत्व सम्भव नभएको र शान्ति प्रक्रियापछि अपनाइएका प्रयोग असफल भएको एमालेको ठहर छ ।
मधेस केन्द्रित दल र राप्रपा, मधेस केन्द्रित दल संकुचित विचार बोकेका कारण नेतृत्व गर्न नसक्ने र राजावादी समूहहरूले धर्म र जन्मजात श्रेष्ठताको विचार लिएर लोकतान्त्रिक नेतृत्व गर्न नसक्ने एमालेको ठहर छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पपुलिस्ट विचारधाराले उत्पन्न भएको रास्वपा कुनै दीर्घकालीन विकल्प नभएको, सकिँदै गएको, समाजमा समाधान र स्पष्ट वैचारिक मार्गदर्शनको जिम्मेवारी एमालेकै भएको दस्तावेजमा उल्लेख छ ।























