
काठमाडौं– नेकपा (एमाले)को विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई फरक मत राख्न नदिँदा हलभित्रै तनाव उत्पन्न भएको छ ।
शुक्रबार ललितपुरको गोदावरीमा सुरू भएको महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले थापालाई समय नदिएकाले हलमा नोकझोक भएको हो ।
थापाले ३२ पृष्ठ लामो फरक मत तयार पारेका थिए र अध्यक्षसँग समय मागेका थिए, तर ओलीले अहिले समय छैन, आफ्नै समूहमा कुरा राख्नुस् भने ।
थापाले आफ्नो फरक मतमा पार्टीमा मूल्य, उद्देश्य, नीति र नेतृत्व हस्तान्तरणमा कमजोरी रहेको र व्यक्तिगत स्वार्थका कारण पार्टी दिशाविहीन बन्ने खतरा औंल्याएका छन् ।
उनले जनताको बहुदलीय जनवादअनुसार पार्टी सञ्चालन, नयाँ अवधारणाको विकास, नेतृत्व चयन र स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
थापाका अनुसार महाधिवेशनमा निर्णय र नेतृत्व निर्माणमा अपारदर्शी योजना, अस्वस्थ प्रतिस्पर्धा, गुटबन्दी र अवसरवाद फैलिएको छ ।
पार्टीमा विचार व्यक्त गर्न डरयुक्त वातावरण बनेको र भिन्न मतलाई दबाउने, असहिष्णु व्यवहार गर्ने प्रवृत्ति देखिएको उनले औँल्याए ।
थापाले स्वस्थ बहस, आलोचना र आत्मालोचनालाई प्राथमिकता दिने, नेतृत्व मूल्याङ्कनको वैज्ञानिक प्रणाली लागू गर्ने र पार्टी जीवनमा अनुशासन र पारदर्शिता ल्याउने आवश्यकता औंल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्