काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई मानार्थ सदस्यता दिनुपर्ने सुझाव आएको छ ।
केन्द्रीय कमिटीले उनको सदस्यता होल्ड गर्ने निर्णय गरिसकेको भए पनि प्रतिनिधिहरूले कार्यकारी पदमा रोकसहित मानार्थ सदस्यता दिन प्रस्ताव गरेका हुन् ।
महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्तावबारे १० समूहमा दिनभर छलफल भयो ।
प्रतिवेदनमाथि आएका सुझाव आइतबार समूह नेताले प्रस्तुत गर्ने र अन्तिम टुंगो अध्यक्ष केपी शर्मा ओलीले दिनेछन् ।
बन्दसत्रमा फरक मत राख्नेलाई रोकिएको थियो ।
स्थायी कमिटी सदस्य कर्ण थापाले बोल्ने अनुमति नपाए पनि हलमा कोही उनको पक्षमा उभिन सकेनन् ।
यसपटक विधान संशोधनमा केन्द्रीय कमिटीलाई ३०१ बाट घटाएर २५१ सदस्यमा सीमित गर्ने, वरिष्ठ उपाध्यक्ष हटाउने, उपाध्यक्ष ६ बाट घटाएर ३ कायम गर्ने लगायतका प्रस्ताव आएका छन् ।
तर प्रतिनिधिहरूले पदाधिकारी र सदस्यसंख्या नघटाउन सुझाव दिएका छन् ।
अन्यथा ‘मिशन २०८४’ प्रभावित हुने चेतावनीसहित ।























