काठमाडौं– नेपाली कांग्रेसले रुपन्देही–३ को उपचुनावमा उम्मेदवार चयन गर्दा यसपटक परम्परागत पद्धति परित्याग गर्दै नयाँ शैली अवलम्बन गर्ने भएको छ ।
केन्द्रको निर्देशनअनुसार तल्लो तहले सिफारिस गर्ने व्यवस्थालाई निरन्तरता नदिँदै ‘आइडिया फोर’ प्रणाली लागू गरिने छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अवधारणामा आधारित यस प्रणाली अन्तर्गत विभिन्न चरणमा क्षेत्र भ्रमण गरी मतदाताको चाहना र समाजको धारणा अध्ययन गरिने छ ।
अध्ययन टोलीले उम्मेदवारको निरन्तरता, योग्यता, सम्भाव्यता, सामाजिक प्रभाव र ईमानदारीका पक्षहरू मूल्याङ्कन गर्नेछ ।
आर्थिक अपचलन, जातीय विभेद, बालश्रम, घरेलु हिंसा र अन्य सामाजिक विसंगतिमा संलग्न भए नभएको पनि ‘इन्टिग्रीटी भिटिङ सिस्टम’ मार्फत जाँच गरिने छ ।
अध्ययन टोलीले अनौपचारिक छलफलमार्फत मतदाताको राय, पार्टीको अवस्था, समाजका गुनासो र सुझाव संकलन गरी उम्मेदवार छनोट गर्नेछ ।
लुम्बिनीका प्रदेश सदस्यका अनुसार क्षेत्रभित्र सातजना आकांक्षी रहेका छन् ।
अन्ततः आइडिया फोरअन्तर्गत प्राप्त सुझाव र विश्लेषणका आधारमा पार्टीले उम्मेदवार चयन गर्नेछ ।























