काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा लिपुलेकमा भारत र चीनबीच भएको सम्झौताको स्पष्ट असहमति व्यक्त गरेको बताएका छन् ।
उनले पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै भने कि चीनसँगको औपचारिक वार्तामा आफ्नो अडान अडिओ, भिडिओ र दुवै देशको नोटमा पनि सुरक्षित गरिएको छ ।
प्रधानमन्त्री ओलीले भने, ‘चीनका राष्ट्रपति सँगको वार्तामा मैले स्पष्ट पारें कि हाम्रो भूमिमा दुई देशले व्यापार आदान–प्रदान गर्ने सम्झौता गर्न सकिँदैन । हाम्रो असहमति प्रष्ट छ । यो कुरा अडिओ, भिडिओ र दुई देशको नोटमा रेकर्ड गरिएको छ ।’
उनले थपे, ‘मेरो असहमति राखेपछि सी जिनपिङले नेपालको सार्वभौमसत्तामा कुनै प्रकारको हस्तक्षेप नहुने जवाफ दिनुभयो, उहाँले भन्नुभयो, ‘नेपालको सार्वभौमसत्ता कमजोर पारिने छैन, हामी समर्थन गर्छौं । सिमानाको विषय नेपाल र भारतबीचको हो, र यसलाई कूटनीतिक रूपमा समाधान गर्नुहोस् ।’
प्रधानमन्त्री ओलीले सीमासम्बन्धी समस्याको समाधान भारतसँग छलफल गरी गरिने पनि बताए ।























