images
images
  • विद्या पक्षका नेताहरूद्वारा फरक मत दर्ता

    ललितपुर– नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु हुनुअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले चार विषयमा फरक मत दर्ता गराएको छ ।

    स्थायी समिति सदस्य कर्ण थापाले बिहीबार केन्द्रीय कार्यालयमा उक्त फरक मत आधिकारिक रूपमा दर्ता गराएका हुन् ।

    थापा भण्डारीनिकट नेताका रूपमा परिचित छन् ।

    एमाले केन्द्रीय कमिटीले भण्डारीलाई पुनः राजनीतिमा फर्कन रोक्ने निर्णय गरिसकेको छ ।

    तर, उक्त निर्णयविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि असहमति जनाइसकेका छन् ।

    भोलिदेखि ललितपुरको गोदावरीमा सुरु हुने विधान महाधिवेशनका लागि भण्डारी पक्षले फरक मतसहितको दस्तावेज पार्टी कार्यालयमा पेस गरेको हो ।

    १. पार्टी लोकतान्त्रिकरणको विषय

    भण्डारी पक्षले पार्टीमा ७० वर्षे उमेर सीमा र अध्यक्षलाई दुई कार्यकालभन्दा बढी दोहोर्याउन नहुने प्रावधान पुनः कायम गर्नुपर्ने माग राखेको छ ।

    केपी शर्मा ओलीको नेतृत्वमै उक्त व्यवस्था हटाइएको थियो ।

    २. विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने माग

    संविधान, ऐन वा कानुनले पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्कन नरोकेकाले भण्डारीलाई एमाले सदस्यता खुला गर्नुपर्ने पक्षधरहरूले बताएका छन् ।

    ३. नियुक्तिमा हुने चलखेल रोक्नुपर्ने

    भण्डारी पक्षले राजदूतलगायत नियुक्ति नेताको व्यक्तिगत तजबिजमा हुने गरेको भन्दै यसको विरोध गरेको छ ।

    उनीहरूका अनुसार पहिले राज्य व्यवस्था विभागमार्फत सिफारिसका आधारमा हुने प्रचलनलाई तोडेर चलखेल बढेको छ ।

    ४. जनसंगठनको नेतृत्वमा हस्तक्षेप बन्द गर्नुपर्ने

    जनसंगठनको नेतृत्व शीर्ष नेताले नै तोक्ने र अधिवेशन प्रक्रियालाई कमजोर बनाउने प्रवृत्ति बढेकाले यसले आन्तरिक प्रतिस्पर्धा र लोकतान्त्रिक अभ्यासलाई सीमित पारेको भण्डारी पक्षको तर्क छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images