काठमाडौं– नेपाल सरकारले दर्ता (सूचीकरण) नगरेका सामाजिक सञ्जालहरूलाई बिहीबारदेखि क्रमशः बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले फेसबुक, युट्युब, इन्स्टाग्राम, व्हाट्सएपसहित करिब २६ प्लेटफर्म निष्क्रिय पार्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।
प्राधिकरणले सेवाप्रदायक कम्पनीमार्फत चरणबद्ध रूपमा (लोडिङ वा कनेक्टिङ नचल्ने गरी) बन्द प्रक्रिया अघि बढाउने जनाएको छ ।
यसअघि सरकारले यी सञ्जाललाई नेपालमा सूचीकरणका लागि अन्तिम सात दिनको समय दिएको थियो ।
तर, सो अवधिमा कुनै निवेदन नआएपछि कारबाही अघि बढाइएको हो ।
सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णयअनुसार दर्ता अस्वीकार गर्ने प्लेटफर्म बन्द गर्ने निष्कर्ष निकालिएको हो ।
यसअन्तर्गत फेसबुक, एक्स (ट्विटर), युट्युबलगायतका सञ्जाल बन्द हुनेछन् भने टिकटक र भाइबर भने दर्ता भएकाले चलिरहनेछन् ।




















