काठमाडौं– नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी पक्षलाई फरक मत राख्नै नदिने संस्थापनको तयारी छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले ‘जनताको बहुदलीय जनवाद’ (जबज) कार्यान्वयन र नेतृत्वको स्वेच्छाचारिता बारे फरक मत राख्ने तयारी गरेपछि सचिवालयमै रोक्ने रणनीति बनाइएको हो ।
७० वर्षे उमेरहद, पदाधिकारीमा दुई कार्यकाल सीमालाई उल्ट्याउँदै अध्यक्ष ओलीलाई तेस्रो कार्यकाल सुनिश्चित गर्ने प्रस्ताव र विधान संशोधनप्रति असन्तुष्टि देखिएको छ ।
महासचिव शंकर पोखरेलले भने असहमति दस्तावेजमाथि नभई भण्डारीको पुनःसक्रिय सदस्यता दिने÷नदिने विषयमा रहेको दाबी गरेका छन् ।
उनका अनुसार यो विषय महाधिवेशन वा राष्ट्रिय महाधिवेशन कुनमा छलफल गर्ने भन्नेबारे सचिवालयले टुंगो लगाउनेछ ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव पोखरेलले संगठनात्मक प्रतिवेदन र अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
ओलीको प्रतिवेदनले जबजको मार्गदर्शनमा समाजवाद निर्माणको रोडम्याप र ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य तय गर्नेछ ।
विधान संशोधन प्रस्तावमा उमेरहद हटाउने, २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्युरो, १५ सदस्यीय स्थायी कमिटी र पदाधिकारीमा कम्तीमा एक महिला अनिवार्य गर्ने व्यवस्था समेटिएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २०–२२ हुने महाधिवेशनमा २,०३४ प्रतिनिधिसहित करिब २,३४९ जना सहभागी हुनेछन् ।
मूल नारा– ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य ।’























