काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः रुसलाई चेतावनी दिँदै युक्रेन युद्ध तत्काल अन्त्य गर्न आग्रह गरेका छन् ।
ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै उनले पुटिनलाई प्रत्यक्ष सन्देश नदिए पनि उहाँलाई थाहा छ म कहाँ उभिएको छु भन्दै युद्ध रोकिने वा अझै गहिरिने संकेत गरे ।
ट्रम्पले भारतमाथिको करलगायतका कदमलाई पनि रुसविरुद्धको कारबाहीको रूपमा व्याख्या गर्दै अहिलेसम्म थप प्रतिबन्ध नलगाएको उल्लेख गरे ।
तर, सीएनएनका अनुसार, शान्ति सम्झौता खोज्ने प्रयासका कारण ट्रम्प प्रशासन नयाँ प्रतिबन्ध लगाउन हिचकिचाइरहेको छ ।
उनले चाँडै युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्ने बताएका छन् ।
यद्यपि, पुटिन–जेलेन्स्की वार्ताको सम्भावना नजिकिँदै गएको कुनै संकेत छैन ।
पुटिनले चीन भ्रमणका क्रममा युक्रेन सहमत नभए आफ्ना सबै उद्देश्यहरू सैन्य रूपमा हासिल गर्ने बताए ।
पुटिनले डोनबास क्षेत्र नत्याग्ने, युक्रेनले नेटोमा प्रवेश नगर्ने र जातीय रुसहरूमाथिको भेदभाव अन्त्य हुने माग दोहोर्याए ।
शान्ति सम्झौतापछि पश्चिमी सुरक्षा ग्यारेन्टी डोनबाससँग जोडिने सम्भावना नभएको पनि उनले स्पष्ट पारे ।
यसैबीच, युद्धविरामको आह्वान अस्वीकार गर्दै रूसले आक्रमण तीव्र बनाएको छ ।
हालसालै मात्र युक्रेनी शहरहरूमा ५०० भन्दा बढी ड्रोन र २४ क्रूज मिसाइल प्रहार गरिएको छ ।


विश्व खबर 


















