काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही–३ को उपनिर्वाचन (कात्तिक १७) का लागि उम्मेदवार छान्न आन्तरिक प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) गर्ने निर्णय गरेको छ ।
तर, यस निर्णयले पार्टीभित्रै विवाद चर्किएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले आकांक्षी नेताहरूलाई छलफलमा ल्याएर आपसी सहमति खोजेका थिए ।
अन्ततः प्राइमरी इलेक्सन गर्ने निर्णय गरेपछि संस्थापनइतर समूह (विक्रम पाण्डे–धवल शम्शेर पक्ष) ले विरोध गर्दै बहिस्कारको चेतावनी दिएको हो ।
उनीहरूले विधानअनुसार संसदीय समितिबाट उम्मेदवार चयन गर्नुपर्ने तर्क गर्दै लिङ्देनमाथि नियम उल्लंघन गरेको आरोप लगाएका छन् ।
रूपन्देहीकै ओमसतिया २ का अध्यक्ष ज्ञानेश श्रेष्ठ, प्रदेश (ख) का अध्यक्ष प्रेमबहादुर कुँवरलगायतले विज्ञप्ति जारी गरी प्राइमरी प्रणाली अस्वीकार गरेका छन् ।
उनीहरूको भनाइमा यसले कार्यकर्ताबीच फुट ल्याउने खतरा छ ।
उता लिङ्देन पक्षले भने दीपक बोहराको निधनपछि परिवारभित्रै तीन आकांक्षी देखिएकाले लोकप्रिय उम्मेदवार पहिचान गर्न प्राइमरी इलेक्सन आवश्यक भएको दाबी गरेको छ ।
सिफारिसमा उनका दुई छोरा गौरव र प्रज्वल तथा नातिनी स्वाती थापा पनि छन् ।
प्रज्वलले त सोही दिन सामाजिक सञ्जालमार्फत आफ्नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।
यसअघि रास्वपाले पनि प्राइमरी इलेक्सन प्रयोग गरेको थियो, जसको विवाद अझै मथ्यिरहेको छ ।
रास्वपाले भने राप्रपाको कदमलाई स्वागत गरेको छ ।
राप्रपाले प्राइमरी इलेक्सनमा रूपन्देही–३ भित्रका क्षेत्रीय, प्रदेश, जिल्ला, स्थानीय समिति र भातृ संगठनका पदाधिकारी/सदस्य तथा सक्रिय सदस्यलाई मताधिकार दिने गरी मापदण्ड तयार पारेको छ ।
संस्थापन पक्ष यसलाई आन्तरिक लोकतन्त्र बलियो बनाउने प्रयोग भन्छ भने विरोधी पक्षले विधानविपरीत, विभाजनकारी कदम भन्दै बहिस्कारको तयारी गरिरहेका छन् ।























