काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच पछिल्ला दिनमा बाक्लो भेटवार्ता भइरहेको छ ।
यसले दुई पार्टीबीच एकताको सम्भावना बढेको आकलन गरिएको छ ।
तर, अहिलेसम्म छलफल शीर्ष नेतामै सीमित छ, कमिटी तहमा प्रवेश पाएको छैन ।
समाजवादी मोर्चामा पनि मतैक्य नहुँदा गतिरोध देखिएको छ ।
मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ भने एकताको पक्षमा छन् ।
एकताका लागि उनी पछिल्लो समय निकै सक्रिय रहेको माओवादी स्रोत बताउँछ ।
प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्बन्ध बिग्रिएको र पार्टीभित्र जनार्दन शर्माले चुनौती दिइरहेको बेला एकताको प्रस्ताव अघि सारेको समाजवादी नेताहरूको बुझाइ छ ।
एकीकृत समाजवादीभित्र पनि अध्यक्ष नेपाल कानुनी र आन्तरिक दबाबमा रहेको र तत्काल एकताको अवस्था नबनेको स्वीकार गरिन्छ ।
सम्मानित नेता झलनाथ खनालले समेत माओवादीसँग एकता असम्भव रहेको प्रस्ट पारेका छन् ।
माओवादी उपमहासचिव वर्षमान पुनले पनि औपचारिक छलफल नभएको बताएका छन् ।
यद्यपि, प्रचण्ड–नेपालबीच बढ्दो वार्ताले प्रदेश तहसम्म नेताहरू उत्साहित देखिएका छन् ।
तर, समाजवादी नेताहरू भने अघिल्ला निर्वाचनमा माओवादीबाट भएको ‘धोका’ स्मरण गर्दै विश्वास पुनः स्थापित नगरी एकता सम्भव नहुने धारणा राखिरहेका छन् ।























