काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको पछिल्लो भेटवार्ताले राजनीतिक वृत्तमा चासो बढाएको छ ।
तर, सो भेटलाई समाजवादीभित्र झलनाथ खनाल समूहले शंका र असन्तुष्टिका दृष्टिले हेरेको छ ।
अध्यक्ष नेपालले पार्टी पदाधिकारीलाई जानकारी नदिई प्रचण्डसँग पटक–पटक छलफल गरिरहेको खुलासा भएपछि खनाल पक्ष असन्तुष्ट बनेको हो ।
पतञ्जली जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेसँगै ओलीको षड्यन्त्रमा फसिएको दाबी गरेका नेपाल पार्टीभित्र नै दबाबमा परेका छन् ।
मंगलबार प्रचण्ड महासचिव देव गुरुङसहित आलोकनगरस्थित समाजवादी कार्यालय पुगेका थिए ।
सो अवसरमा समाजवादी मोर्चा प्रभावकारी बनाउने र वाम एकताको सम्भावनाबारे छलफल भएको दुवै पक्षले जनाए पनि तत्काल ठोस निष्कर्ष ननिस्किएको बताएका छन् ।
तर, खनाल पक्षले भने पार्टी एकता अध्यक्षको व्यक्तिगत निर्णयमा हुन नसक्ने, समितिको सहमतिविना जबर्जस्ती भए विद्रोह हुने चेतावनी दिएको छ ।
हालै खनाल–घनश्याम भुसाल समूहले छुट्टै भेला गरी माओवादीसँग मात्र एकता आत्मघाती हुने निष्कर्ष निकालेको थियो ।
यता उपाध्यक्ष जगन्नाथ खतिवडाले माओवादीसँग एकता होइन, बिग्रिएको सम्बन्ध सुधार्ने र विश्वास पुनःस्थापना गर्ने विषयमा मात्रै छलफल भइरहेको स्पष्ट पारेका छन् ।
भदौको अन्तिम हप्तामा बस्ने केन्द्रीय समिति बैठकमा खनाल समूहले नेपाललाई अध्यक्ष पद छोड्न दबाब दिने सम्भावना रहेको बताइएको छ ।
झलनाथ समूहले नेपालले प्रचण्डसँग बाक्लो भेटवार्ता गरेपछि विद्रोहको संकेत गरेको छ भने मूलघरमै फर्किने आन्तरिक तयारी थालेको स्रोत बताउँछ ।























