काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङमाथि रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
चीनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसरमा राजधानी बेइजिङमा भव्य सैन्य परेड आयोजना गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उक्त परेडमा राष्ट्रपति सीसँगै पुटिन, किम लगायत २६ भन्दा बढी मुलुकका शीर्ष नेताहरू सहभागी भएका थिए ।
चीनले अन्तर्राष्ट्रिय नेताहरूको उपस्थितिमा शक्ति प्रदर्शन गरिरहँदा, ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत टिप्पणी गर्दै भनेका छन्, ‘भ्लादिमिर पुटिन र किम जोङ–उनलाई मेरो अभिवादन पुर्याउनुहोस्, तपाईंहरू अहिले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहनुभएको छ ।’
ट्रम्पले चीनलाई दोस्रो विश्वयुद्धमा अमेरिकाले दिएको योगदान सम्झाउँदै अमेरिकी सैनिकहरूको बलिदानलाई सम्मानपूर्वक स्मरण गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘चीनको विजय र गौरवको यात्रामा हजारौँ अमेरिकीले ज्यान गुमाएका थिए । आशा गर्दछु, उनीहरूको वीरता र बलिदानलाई उचित सम्मान र सम्झना गरिनेछ ।’


विश्व खबर 


















