काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले भोलि (बिहीबार) पदाधिकारी बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा हालै सम्पन्न स्थायी कमिटी बैठकका निर्णयहरूबारे समीक्षा र छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा आगामी भदौ २१ गतेदेखि सुरु हुने भनिएको मध्यपहाडी लोकमार्ग जागरण अभियान तयारीसँगै समसामयिक राजनीतिक विषयमा समेत छलफल हुनेछ ।
बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएका नेतृत्व परिवर्तन र कार्यशैलीसम्बन्धी प्रश्नहरू पनि प्रमुख एजेन्डाका रूपमा रहने नेताहरूले बताएका छन् ।
माओवादी केन्द्रले नेतृत्व र कार्यशैलीबारे देखिएका असन्तुष्टिलाई पदाधिकारी बैठकमार्फत समाधान गर्ने तयारी गरेको बुझिएको छ ।
शर्माको सचिवालयका अनुसार, उनले पनि आफ्ना असन्तुष्टिहरू यही बैठकमार्फत सम्बोधन हुने अपेक्षा गरेका छन् ।
यसअघि स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ ।
यसका साथै नेकपा (एकीकृत समाजवादी)सँग पनि एकता प्रक्रिया अघि बढाउन सक्ने बुझिएको छ ।























